सभामुखको ‘उधारो’ राजीनामा, नेकपालाई अप्ठ्यारो

87

अन्नपूर्ण पोष्ट
असोज १५, काठमाडौं । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद मानेका छन् ।

संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सत्तासीन नेकपा सचिवालय बैठकले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । तर, उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । त्यो पनि अवधि तोक्दै ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, राजीनामा पत्रमा भनिएको छ । महराले आफूमाथि निराधार र गलत आरोप लगाएको दाबी गर्दै आएका थिए । तर उनीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजीनामा दिएर छानबिनमा सहयोग पु¥याउन दबाब परेको थियो ।

महिला कर्मचारीले आफूमाथि महराले दुव्र्यवहार गरेको आरोप सार्वजनिक गरेसँगै सत्तासीन नेकपामा हल्लीखल्ली मच्चिएको थियो । सोमबार रातिदेखि नै नेता–नेताबीच टेलिफोनमा कुराकानी भएका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छलफलका लागि बिहानै बालुवाटार बोलाएका थिए ।

नेम्वाङले ‘गम्भीर कुरा उठेकाले पार्टीको पोजिसिन’ स्पष्ट गर्नुपर्ने सुझाव अध्यक्षद्वयलाई दिएका थिए । प्रधानमन्त्री ओलीले महरासँग फोनमा कुराकानी गरेका थिए । महराले आफू निर्दोष रहेको भन्दै आरोप लगाउने महिलाको कोठामा नगएको दाबी गरेका थिए । तर सञ्चारमाध्यममा प्रसारित महिलाको भिडियो हेरिसकेका ओलीले महरालाई उल्टै हपारेका थिए । ‘सबै कुराले तपाईं त्यहाँ गएको कुरा पुष्टि भइसक्यो,’ ओलीले महरालाई भनेका थिए । अध्यक्षद्वय, नेम्वाङ र महासचिव विष्णु पौडेलबीचको छलफलले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गराउने निर्णय गरेको थियो । बिहान साढे ९ बजे छलफल सकिएलगत्तै ११ बजे पार्टी सचिवालय बैठकका लागि नेताहरूलाई खबर गरिएको थियो । बैठकले महरालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले महराको नैतिक आचरणका सवालमा सञ्चारमाध्यमले उठाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण गरेको भन्दै छानबिनका लागि राजीनामा दिन आग्रह गरेको बताए ।