३२ जिल्लाका मुख्य सहरमा टेलिकमको फोजी

59

कान्तिपुर दैनिक
असोज १५, काठमाडौँ — नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा आज बुधबार फोजी सेवा सुरु गर्ने भएको छ । फोजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु हुने जानकारी दिइन् । देशैभर फोजी सेवा सुरु गर्नको लागि गत माघ २० मा टेलिकमले ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा देशैभर फोजी विस्तार गर्ने टेलिकमको योजना थियो ।

फोजी सेवा विस्तारका लागि टेलिकमले कोर नेटवर्क विस्तारको जिम्मा चीनको जेडटीई कर्पोरेसनलाई दिएको थियो । यस्तै हङकङको सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तारको जिम्मा पाएको छ । काम सुरु भएको ८ महिनापछि टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु गर्न लागेको हो । टेलिकमले काठमाडौंबाहेकका सबै महानगर, उपमहानगर, धेरै जनसंख्या भएका नगरपालिकाहरूमा फोजी सेवा सुरु गर्न लागेको हो ।

पहिलो चरणमा दमक, बिर्तामोड, धरान, धनकुटा, विराटनगर, जनकपुर, इटहरी, वीरगन्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत, रौतहट, महोत्तरी, सर्लाही र धनगढीमा सेवा सुरु हुने टेलिकमले जनाएको छ । यस्तै रुकुम, धनकुटा, पर्वत, पाल्पा, बागलुङ, दाङ, बर्दियाका मुख्य सहरमा पनि सेवा सुरु हुने टेलिकमले जनाएको छ । टेलिकमले फोजी सुरुवात गर्नका लागि आन्तरिक रूपमा परीक्षण गरिसकेको छ । परीक्षणको क्रममा फोजीको स्पिड २ सय एमबीपीएसभन्दा बढी देखिएको जनाइएको छ ।

२०७३ पुस १३ गते टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोजीरएलटीई सेवाको सुरुवात गरेको थियो । दुई ठाउँमा फोजी सेवा सुरु गरी परीक्षणपश्चात अन्यत्र विस्तार गर्ने टेलिकमको योजना लामो समय रोकिएको थियो । समयमै फोजी विस्तार गर्न नसक्दा टेलिकमले फोजीका उपभोक्ताका साथै आम्दानी पनि गुमाइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमका फोजीका ग्राहक ८ लाख छन् ।