Sunday, October 18, 2026
Home समाज सोह्र श्राद्ध विसर्जन …पशुपतिमा श्राद्ध गर्नेको भिड

सोह्र श्राद्ध विसर्जन …पशुपतिमा श्राद्ध गर्नेको भिड

287

असोज ११,
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमा श्राद्ध गर्नेहरुको भिड थियो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। सोह्रश्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ। पितृ पक्षको समाप्तीसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ। छुट भएको र कारणबस तिथि गर्न नसकेको अवस्थामा आज श्राद्ध गरिने प्रचलन पनि छ। सोह्र श्राद्ध सकिएसँगै भोलिदेखि घटस्थापनाको सुरुवात गरेर दशैँ बोलाइनेछ ।