‘कबड्डी कबड्डी कबड्डी’ले एक हप्तामै कमायो ७ करोड बढी

101

असोज १०,
काठमाडौं । लामो समयपछि बक्स अफिसमा नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको छ । असोज ३ गते प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको हो । आज शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको कमाइ गरेको हो । वितरण कम्पनी स्टेशन फाइभका अनुसार चलचित्रले ओपनिङको दिन मात्र १ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र ‘जात्रै जात्रा’ पछि बक्स अफिसमा राम्रो कमाइ गरेर नेपाली निर्मातालाई उत्साह थपेको छ । सँगै रिलिज भएका बलिउड र हलिउड फिल्मले भन्दा ‘कबड्डी ३’ ले धेरै शो पाएको थियो । दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, कर्मा, विजय बराल, माओत्सु गुरुङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारले अभिनय गरेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । नेपाली फिल्मले दर्शक नपाइरहेका बेला ‘कबड्डी कबड्डी कबड्डी’ ले आशालाग्दो व्यापार गर्न सफल भएको हो ।