Sunday, September 27, 2026
Home राजनीति ‘प्रधानमन्त्रीका लागि होइन, परिवर्तनका लागि लागेको थिएँ’

‘प्रधानमन्त्रीका लागि होइन, परिवर्तनका लागि लागेको थिएँ’

54
फाइल तस्बिर

असोज १०,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरेका छन् । नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे ।

उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे ।

‘देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नोबारेमा केही पनि परिकल्पना थिएन’ उनले भने, ‘त्यसबेला भोकै हिँड्ने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पर्थ्यो । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।’

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद दिए। झापा विद्रोहकालदेखि राजनीतिमा लाग्नुभएको प्रा खुम्बु हाल प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् । पुस्तकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र उनका सहकर्मीहरु युवा उमेरमा रहँदा भूमिगतकालमा कसरी राजनीतिमा सक्रिय भएका थिए भन्नेबारेमा समेत चर्चा गरिएको छ । समालोचक डा जङ्गब चौहानले पुस्तक एक राजनीतिक दस्तावेज र इतिहासको साक्षी सावित भएको बताए ।-रासस