कान्तिपुर दैनिक
असोज ८, काठमाडौँ — सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङमार्गदेखि प्रसारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका छन् । ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एउटा परियोजना छन् ।
भौतिक पूर्वाधारअन्तर्गत काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, अरनिको राजमार्ग स्तरोन्नति, उपत्यका रिङरोडको स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् ।
यस्तै ऊर्जाका गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन र फुकोट कर्णाली हाइड्रो प्रोजेक्ट (४२६ मेगावाट) छन् । सरकारले माग गर्न लागेको अर्को चर्चित योजना मकवानपुरको चित्लाङमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालय हो । सरकारले अघि बढाएको यो योजना शिक्षा तथा प्रविधि मन्त्रालयअन्तर्गत पर्छ ।