निजगढ एयरपोर्ट बनाउन स्विटजरल्याण्डको कम्पनी जुरिच एयरपोर्ट छनोट

116

असोज ६,
काठमाडौं । लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)सँग विस्तृत प्रतिवेदन माग गरेको छ। लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्‍याएको ठहर गरेको हो। लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको जानकारी दिए। जुरिच स्विटजरल्याण्डको कम्पनी हो।

त्यस्तै, लगानी बोर्डले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि चाइना कम्युनिकेसन कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरेको छ। चार वटा प्रस्ताव परेकोमा तीन वटा प्रस्तावकले मापदण्ड पूरा नगरेको अधिकारीले बताए। लगानी बोर्डले तल्लो अरुण हाइड्रोपावर निर्माणका लागि तीन प्रस्तावकलाई नै विस्तृत रिपोर्ट माग्ने निर्णय गरेको छ। ‘भारतको एसजेभिएन, चीनको चाइना पावर कम्पनी र जापानको जे पावर वाटरसँग विस्तृत रिपोर्ट माग्ने निर्णय भएको छ’, अधिकारीले भने। तल्लो अरुण ६ सय ७९ मेगावाट क्षमतामा निर्माण हुनेछ।