प्रहरीको कागजात अख्तियारको नियन्त्रणमा

54

कान्तिपुर दैनिक असोज ६,
काठमाडौँ — लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैं गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार खरिद घोटालालाई लिएर २०७६ साउन २१ मा ७६/७७ सी–२५८० र साउन २६ मा सी–३३८१ दर्ता नम्बरमा दुई छुट्टाछुट्टै उजुरी परेका थिए ।

त्यसअनुसार आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ का लागि भएका पोसाक तथा सवारी खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । प्रारम्भिक छानबिनका क्रममा प्रहरीले आर्थिक वर्ष ०७४/७५ मा गुणस्तर परीक्षण फेल भएका १५ हजार थान बुट अर्कै टेन्डरमा राखेर स्वीकार गरेको पाइएको स्रोतको दाबी छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भीभीआईपीरभीआईपी)का लागि किनिएका ३० थान एस्कर्टिङ मोटरसाइकलमा पनि घोटाला भएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ । दुई साताअघि आयोगले कागजात नियन्त्रणमा लिए पनि दुवै निकायले यसलाई गोप्य राखेका छन् । स्रोतका अनुसार अख्तियारले भदौ २० गते प्रहरी मुख्यालयबाट कागजात नियन्त्रणमा लिएको हो । अख्तियार र प्रहरी दुवै निकायका अधिकारीले खरिद घोटालासम्बन्धी छानबिनबारे औपचारिक प्रतिक्रियादिन चाहेका छैनन् ।