नेपाल समाचारपत्र
असोज ६, काठमाडौं। नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।
प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो। प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन्। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ। जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेरा जडानको कामलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएपछि सिसी क्यामेरा जडान हुने क्रम बढेको छ।
‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, २४ घण्टा सञ्चालन हुने नयाँ प्रविधिको क्यामेरा जडान गरिएको छ’, थापाले भन्नुभयो– ‘सिसी क्यामेरा हरेक चोकचोक र गल्लीगल्लीमा जडान गर्न आवश्यक छ, समुदायबाट राम्रो साथ र सहयोग पाएका छौं।’