विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीन विकल्प

84

नेपाल समाचारपत्र
असोज ३, काठमाडौं। निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो। अमेरिकाको दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरूलाई भोट हाल्न सहज हँुदैन। अमेरिकाको कुनै एक ठाउँबाट भोट हाल्न अर्को ठाउँमा जानुभन्दा छिटो त नेपाल नै आइपुगिन्छ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताउनुभयो। यद्यपि सो विषय अध्ययनकै क्रममा रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो।विदेशमा बस्ने नेपालीले मतदान गर्ने विषयमा सरकारले कानुन बनाएपछि मात्र आयोगले विकल्पबारे किटानीका साथ भन्न सकिने पनि उहाँको भनाइ रहेको छ।

आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारको प्रयोगका बारेमा २ सय १६ देशको अध्ययन गरिसकेको छ। यसमध्ये १ सय ५१ देशले कुनै न कुनै रूपमा मताधिकारलाई सम्बोधन गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘यसका निम्ति आर्थिकभन्दा प्राविधिक पक्षलाई जोड दिनुपर्ने अध्ययनको निष्कर्ष रहेको छ। यस विषयमा निर्वाचन आयोग अध्ययनकै चरणमा रहेको छ।’

विदेशी नियोग वा राजदूतावासमा मतपेटिका राखेर पनि सबैलाई मताधिकारको व्यवस्था गर्न नसकिने उहाँको भनाइ छ। ‘अमेरिकाको दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरूलाई भोट हाल्न सहज हँुदैन। अमेरिकाको कुनै एक ठाउँबाट भोट हाल्न अर्को ठाउँमा जानुभन्दा छिटो त नेपाल नै आइपुगिन्छ।’ आयोगको सन् २००९ मा तयार गरेको दीर्घकालीन कार्ययोजनामा पनि विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने विषयलाई समावेश गरिएको थियो।