राज्यको सम्पत्तिको दुरुपयोगः महासचिवलाई सुविधैसुविधा

68

कान्तिपुर दैनिक/मकर श्रेष्ठ
माघ २०, काठमाडौँ — संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चालक लिने गरेको जानकारी संघीय संसद् सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलब र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन ९निवृत्तिभरण० बुझ्ने गरेका छन् । असारअघिसम्म तलबबाहेक ८० प्रतिशत प्रोत्साहन भत्तासमेत लिने गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेन्सन र तलबमध्ये एउटा मात्रै रोज्नुपर्ने बताए । ‘कसैले तलब र पेन्सन दुवै लिएको छ भने एउटा फिर्ता गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दुवै सुविधा लिन पाइँदैन ।’ मन्त्रिपरिषद्ले सेवा निवृत्त भएका राष्ट्रसेवक कुनै पदमा नियुक्त भए पेन्सन या तलबमध्ये एउटा रोज्नुपर्ने निर्देशिका जारी गरेको छ ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवासर्त र सुविधासम्बन्धी ऐनको दफा ७ मा निवृत्तिभरण पाइसकेका व्यक्तिले मासिक तलब र निवृत्तिभरणमध्ये एउटा मात्रै लिन पाइने व्यवस्था छ । ऐनको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको व्यक्ति महासचिव वा सचिव पदमा नियुक्त भएमा निजले निवृत्तिभरण वा यस ऐनबमोजिमको पारिश्रमिकमध्ये एउटा मात्र लिन पाउनेछ ।’ संसद्को अभिलेखमा महासचिवको नाममा बा१झ ८२०६ कार र बा२झ १६८६ नम्बरको किया गरी दुईवटा गाडी मात्रै देखाइएको छ । स्रोतका अनुसार जगेडाको सूचीमा राखिएका बा१झ ८४९१, मर्मतको सूचीमा रहेको बा१झ ९१६० मित्सुबिसी र बा१झ ९७०० नम्बरको स्कोर्पियो पनि महासचिवले प्रयोग गर्ने गरेको स्रोतले जनाएको छ । यी गाडी चलाउन सानुकाजी महर्जन, रामनारायण महर्जन र रमेश भट्टराई गरी तीन जना चालक प्रयोग गर्ने गरेको स्रोतलेजनाएको छ ।