सरकारी निवास बालुवाटारबाट निर्वतमान सभामुख महरा यौन दुर्व्यवहार आरोपमा पक्राउ

162

असोज १९,
काठमाडौं ।सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएसँगै महरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो। महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको थियो।

गत आइतबार रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएका थिए। त्यसपछि उनले सभामुखबाट राजीनामा दिएका थिए।

आफूलाई बलात्कार गरेको भनेर सार्वजनिक भएकी शाहीले पछि महराले आफूलाई केही पनि नगरेको बताएकी थिइन्। तर, प्रहरीले स्वास्थ्य परीक्षण र बयान लिएपछि भने उनले महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता गरेकी थिइन्।

महराविरुद्ध प्रकाउको अनुमति माग्दै प्रहरी आइतबार जिल्ला अदालत काठमाडौं पुगेको थियो। अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। महरालाई पक्राउ गर्नका लागि सभामुख निवास अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।