सुदूरपश्चिममा ३७ पुल लथालिंग

78

अन्नपूर्णपोष्ट दैनिक

भदौं ३०, धनगढी । सुदूरपश्चिमका ९ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र छन्। ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृत्ति बढिरहँदा विकट क्षेत्रका बस्ती विकास निर्माणमा पछि धकेलिएको छ। अधिकांश पुल निर्माणमा ठेकेदारसँग दुई पटकभन्दा बढी म्याद थपिएको छ। मोहना नदीमा निर्माणाधीन राजघाट पुलका लागि ठेकेदारसँग दुई पटक थपिएको म्याद असारमा सकिएको छ। साढे ८ करोड लागतमा बनिरहेको पुलको ५५ प्रतिशत मात्रै काम भएको छ। एलाइड एडभेन्चर निर्माण कम्पनीले तेस्रोपटक म्याद थपका लागि निवेदन दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले बताए।

धनगढी उपमहानगरपालिका–२ साइली कटान नालामा निर्माण भइरहेको पुलको पनि म्याद सकिएको छ। एमके कन्स्ट्रक्सन निर्माण कम्पनीले आव ०७३/०७४ मा चार करोडमा सम्झौता गरेको पुलको दुई वर्षमा ६० प्रतिशत निर्माण भएको छ। हुलाकी सडकअन्तर्गत कान्द्रा नदीमा निर्माण भइरहेको पुल पनि अधुरो छ। यो पुल लामा शेर्पा बिरुवा जेबीले २०६८ मा निर्माण सुरु गरेको हो। चार करोड ४२ लाख लागतको पुल निर्माणका लागि दुईपटक म्याद थप्दा पनि प्रगति ३५ प्रतिशतमात्र भएको इन्जिनियर पदम मडैले बताए।

कञ्चनपुरका १३ पुल अलपत्र

सडक डिभिजन कार्यालय कञ्चनपुरअन्तर्गतका एक अर्ब साढे ५ करोडका पुलको म्याद सकिएको छ। चार वर्षअघि कञ्चनपुरको लालझाँडीको नौरंगा, शंकरपुर, कञ्ज, कस्बालगायतका गाउँलाई जोड्न २०७२ पुसमा डिभिजन सडक कार्यालय कञ्चनपुरले लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसित सम्झौता गरेको थियो। २४ करोड ५३ लाख रुपैयाँ लागतको यो पुल अझै बनिसकेको छैन।

बंक नायल बुडर सडक खण्डअन्तर्गत खार खोला र ओदाली खोलामा पुल निर्माण सम्झौता सकिएको डेढ वर्ष बित्दासमेत पिल्लर मात्रै बनेको छ। थेगिम गाल्वा कन्स्ट्रक्सनले २०७४ फागुनमा काम सक्नुपर्ने थियो। खार खोलामा ६ करोड ५९ लाख ६७ हजार र ओदाल खोलामा ५ करोड ४७ लाख ४ हजारमा २०७३ भदौ १७ मा थेगिम गाल्वा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो।

कञ्चनपुरकै दैजी–बेल्डाँडी सडकअन्तर्गत बल्मा नदीमा निर्माणाधीन पुलको सम्झौताको म्याद २०७४ को पुस २६ मै सकिएको हो। पुल निर्माणका लागि एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले ६ करोड ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो  । गोबरिया खोलामा पुल निर्माणका लागि २०७४ वैशाखमा रोयल कन्स्ट्रक्सन कैलालीसँग ४ करोड ३ लाखमा सम्झौता भए पनि काम अधुरै छ। ०७६ वैशाखमा काम सम्पन्न गर्ने गरी भएको सम्झौताको म्याद सकिएको छ। शुक्लाफाँटा नगरपालिका झलारी पीपलाडी जोड्ने चितौरा खोलामा २०७४ जेठमा जस्मिन भौनेली निर्माण सेवाले ०७६ वैशाखमा काम सम्पन्न गर्ने गरी ४ करोड १६ लाख गरेको सम्झौता पनि सकिएको छ।

वेदकोट नगरपालिका भम्का–जडेपानी जोड्ने पथरिया नालाको पुल ०७६ वैशाखमा सम्पन्न गरिसक्नुपर्ने थियो। पुल निर्माणका लागि राजेन्द्र मालिका जेभीसँग २०७४ वैशाखमा ४ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो। १५ करोड ४३ लाख लागतमा मुसेपानी खोला पुल पनि म्याद सकिन लाग्दा सम्पन्न भएको छैन। २०७१ वैशाखमा भएको ठेक्का सम्झौता ०७६ जेठमा म्याद सकिएको हो