Monday, September 21, 2026
Home समाचार बुद्ध एयर भन्छः ‘मन्त्रीको कारण १५ मिनेट पनि जहाज ढिला भएको छैन्’

बुद्ध एयर भन्छः ‘मन्त्रीको कारण १५ मिनेट पनि जहाज ढिला भएको छैन्’

280
सांकेतिक तस्विर

भदौं २९,
काठमाडौं । शनिबार राती एकाएक एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा जहाजको सीटमा बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही युवाहरुले आक्रोस व्यक्त गरिरहेको देखिन्छ । यो नेपालगञ्ज एयरपोर्टबाट उड्न ठिक परेको बुद्ध एयरको विमानभित्रको दृष्य हो । मन्त्री भट्टराईका कारण १ घण्टा जहाजमा कुर्नुपरेको भन्दै युवाहरुले हंगामा मच्याएका थिए । मन्त्री भट्टराई काठमाडौं आइसकेपछि सामाजिक सञ्जालमा स्पष्टिकरण दिए । आफ्नो कारणले १५ मिनेट ढिलाई भएको भन्दै उनले क्षमा मागेका छन् । भिडियोमा १ घण्टा कुराएको आरोप लगाइएको छ भने मन्त्री भट्टराईले भने आफू १५ मिनेट मात्र ढिला आइपुगेको बताएका छन् । यसको वास्तविकता के हो त ? बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । हामीले नेपालगन्ज विमानस्थलका प्रमुख र बुद्ध एयरसँग यसबारे बुझ्ने कोसिस गरेका छौं ।

नेपालगन्ज विमानस्थल प्रमुख प्रेम ठाकुरले अनलाइनखबरसँग बुद्ध एयर अवतरणदेखि नेपालगन्जबाट उडेको समयसम्म उपलब्ध गराए । त्यसअनुसार नेपालगन्जमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण गरेको थियो । जहाज अवतरण गरिसकेपछि करीव ३०–३५ मिनेट जहाजमा भएका यात्रु झर्न, तेल राख्न र जहाज भित्र सरसफाईमा लाग्ने गर्छ । त्यसपछि यात्रु चढाउने काम सुरु हुन्छ । ठाकुरका अनुसार ६ः४८ मिनेट जाँदा सबै यात्रु जहाजमा चढेका थिए । त्यतिन्जेल मन्त्रीसहितको टोली विमानस्थल प्रवेश गरेको थियो । विमानस्थलको प्रक्रिया पूरा गर्दा केही ढिला भयो । यात्रु चढिसकेपछि करीव १०र१२ जनाको समूह जवर्जस्ती जहाजबाट बाहिर निस्किएर नाराबाजी गर्न लागे । बुद्ध एयर र नेपालगन्ज विमानस्थलका कर्मचारीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दै सबैलाई जहाजभित्र जान आग्रह गर्दा ‘मन्त्रीको चम्चा धेरै नबोल’ भन्दै उनीहरुले कर्मचारीलाई थर्काएका थिए । १०/१२ जना मानिस बाहिर झरेपछि उनीहरु भित्र पस्दा करीव ५र७ मिनेट लागेको ठाकुरले जानकारी दिए ।

उनका अनुसार ६ः५८ मा मन्त्री भट्टराईसहितको टोली सरासर जहाज भित्र छिरेको थियो । यसरी विशुद्ध मन्त्रीका कारणले चाहिँ करिब १० मिनेट मात्रै ढिलाई भएको विमान कम्पनीको दावी छ । ६ः४८ मा यात्रुहरु चढिसकेपछि त्यसको पाँच–सात मिनेटमा जहाज उड्थ्यो, तर मन्त्री आउन ढिलाई र हुलहुज्जतले गर्दा ७ः०६ मा मात्रै उड्यो ।

ठाकुरको भनाइ अनुसार बुद्ध एयरको जहाज नेपालगन्जमा अवतरण गरी, इन्धन भरेर, सरसफाई गरेर, यात्रु ओरालेर, चढाएर सबै काम सकाउँदा पनि कूल १ घण्टा समय लागेको छैन । ‘हामीले मन्त्री विमानस्थलभित्र आइसकेको भन्दा उल्टो तँ मन्त्रीको चम्चा भन्दै अपमानित गरियो । नियोजित रुपमा फँसाउन खोजेको देखिन्छ । हामीसँग समयको एक–एक रेकर्ड छ । प्लेनको भ्वाइस रेकर्ड छ । भोली अनुसन्धान भयो भने स–प्रमाण देखाउन सक्छौं,’ उनले भने ।

बुद्ध एयर के भन्छ ?

हामीले नेपालगन्जमा के भएको थियो भनेर बुद्ध एयरसँग बुझ्ने कोसिस ग¥यौं । नाम नबताउने शर्तमा कम्पनीका एक अधिकारीले भने, ‘बुद्ध एयर किन केही नबोलेको भनेर आइरहेको छ, हामीले जे बोल्नु पर्ने थियो, त्यो मन्त्रीज्यूको भनाईमा आइसकेको छ । हिजो १०–१५ मिनेट मन्त्री ज्यूको टोली जहाजभित्र छिर्न ढिला भएको हो । तर, त्यो पूर्वसूचना अनुसार थियो ।’ तर, यसअघि बुद्ध एयरले नै सञ्चारमन्त्री गोकुल बास्कोटा विमानस्थल आउन केही बेर ढिला हुँदा उनलाई छोडेर उडेको थियो । त्यतिबेला समयमा सम्झौता गर्न नमानेको बुद्ध एयर अहिले चाहिँ किन लचिलो भयो ? यस विषयमा ती अधिकारीले भने, ‘त्यसदिन एक त मिसकम्यूनिकेशन भएको थियो, मन्त्रीज्यू काठमाडौं फर्कने वा भैरहवामै बस्ने स्पष्ट थिएन । त्यसमाथि मौसम खराब थियो, कारणवशः हामी बेलैमा उड्न सकेनौं भने जहाज भैरहवामै रोकिनु पर्ने अवस्था थियो । यसपालिको अवस्था त्यस्तो होइन ।

सुरक्षाकर्मी किन चुप ?

शनिबार योगेश भट्टराईपछिको उडानमा कांग्रेस सभापति शेरबहादुर देउवा थिए । उनी श्री एयरलाइन्सको जहाजबाट काठमाडौं आएका थिए । बुद्ध एयरमा केही यात्रुले नाराबाजी गरिरहँदा श्री एयरलाइन्स उक्त उडानपछि उड्ने लाइनमा थियो । सो घटनामा मन्त्रीका कारण सुरक्षाकर्मीले पनि संयमता अपनाएको विमानस्थल प्रमुख ठाकुर बताउँछन् ।

‘लगातार दुई उडानमा भिआइपीको सवारी थियो, सानो घटनाले पनि उग्ररुप लिन्छ भनेर मन्त्रीज्यूले संयमता अपनाउन आग्रह गर्नु भएको हो,’ उनले भने । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइका अनुसार मन्त्रीको सुरक्षामा खटिएका निजी सुरक्षाकर्मीले समेत होहल्ला गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर, उनीहरु सुन्ने पक्षमा भने थिएनन् । –अनलाइन खबर