मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

70

नागरिक दैनिक
भदौं १७,
काठमाडौं । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ। कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन्। यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन्। यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित भएका छन्। कयौं बस्ती उजाड बनेका छन्। सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाडलाई चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्। ‘विकासका नाममा विनाश गरेको छ’, बझाङको थलारा गाउँपालिका ९ अफलाका शिव बिष्ट भन्छन्, ‘वर्षामा सडकको पहिरोले घर र कमाउने जमिन सबै पुरिएर मेरो उठिबास भयो। ’ पहिरोका कारण तीन महिनापहिले खुट्टामा लागेको चोट निको नभएको उनको भनाइ छ।

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।
सडकका कारण पहिरो गएपछि अफलाको पूरै बस्ती विस्थापित भएको छ। ‘पहिरोको जोखिमले पूरै बस्ती खाली भएको छ’, उनले भने। डोजर लगाएर सडक नकाट्न गरेको अनुरोधको सुनुवाइ नभएको उनी बताउँछन्। ‘जिल्ला प्रशासन, गाउँपालिका सबैतिर गएर विकासका नाममा विनाश गर्ने सडक नबनाउन आग्रह गरेका थियौं’, उनले भने, ‘हाम्रो कुरा कसैेले सुनेनन्। अहिले बर्खामा त्यो विकासले विनाश ग¥यो। ’ त्यो सडकमा गाडी गुड्ने कहिले हो टुंगो छैन तर निरन्तर पहिरो आएर विनाशमात्र भइरहेको स्थानीय बताउँछन्।

सडकका कारण बझाङका अफलासहित मालुमेला, मौइल, चौडाम, सुवेडा, जाल्तडी, खेती, कुयापानी, बगड, डुग्री, जुई, तोली, बिडाजा, साइलाबगर, सुनिकोट, चोड बस्टी, धारी सुनकुडा, भाँडे कचाली, जुइल भ्यागुते, बडाकोट, चुहावनलगायतका ठाउँ बगरमा परिणत हुनुका साथै ४२ परिवार विस्थापित र ५ सय परिवार उच्च जोखिममा छन्।