अत्यधिक दोहनले उपत्यका भासिँदै

103

भदौं १६,
काठमाडौं। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन् । पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो । काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन् । तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ । जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरूलाई बजेट निकासा गरेर नै काम गराइरहेको पाइएको छ । प्रदेश ३ सरकारले बोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्ता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन् ।
‘उपत्यकाभित्र इनारको संख्या १ लाख बढी छ । गहिरो बोरिङमध्ये अधिकांश अवैध छन् । वैध भएकालाई पनि जथाभावी अनुमति दिइएको छ,’ उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले भने, ‘नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी छ । तर, अवैध रूपमा भएको त्यस्ता कार्य रोक्न बोर्डले कुनै काम गर्न सकिरहेको छैन ।’ गत साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल बोरिङमध्ये २० प्रतिशतले मात्र बोर्डमा दर्ता गरेका छन् ।
मुलुकको महत्वपूर्ण केन्द्रमा समेत बोरिङ गरिएको छ । सरकारी निकाय, उच्चपदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालित छन् । सिंहदरबारदेखि राजधानीको मुटु सुन्धारास्थित हुलाक कार्यालयभित्र पनि गहिरो बोरिङ छ । यी बोरिङले पानीको सतह घट्दै छ । जसका कारण जमिन भासिँदै गएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट काठमाडौं उपत्यकामा सयौं बोरिङ गरिए ।