एम्बुलेन्स संचालकको यस्तो धन्दा

130

भदौं १४,
जनकपुर । संवेदनशील मानिएको स्वास्थ्य क्षेत्रमा निकै व्यथिती छन् । अति आवश्यक सेवाको सूचीमा समावेश गरिएको एम्बुलेन्सलाई कमाई खाने भाँडो बनाएको छ । एम्बुलेन्स सवारीसधान खरिदमा नेपाल सरकारले राजस्व छुट दिएको भए पनि अवैध तरिकाले संचालकहरुले मुनाफा हुञ्जेल संचालन गर्ने गर्दछन् भने घाटा हुन थालेपछि अन्यलाई सो सवारीसाधन विक्रि गर्ने गरेको पाइएको छ । जबकी प्राथमिक स्वास्थ्य क्षेत्रका लागि एम्बुलेन्स सवारी साधनलाई बेच्न वा ठेक्कामा लगाउन पाउने नियम छैन । तर, जनकपुरमा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रवृति दिनानुदिन मौलाउँदै गएको छ ।

यसतर्फ सम्बन्धित निकायले वास्ता नगर्दा झनै मौलाउदैँ गएको देखिन्छ । अहिलेसम्म पनि स्थानीय प्रशासनले कारबाही गर्ने सोच समेत बनाएको देखिँदैन । जसले गर्दा केही वर्षदेखि उपहारमा प्राप्त गरिएको एम्बुलेन्सदेखि बाहिरबाट खरिद गरी ल्याइएको एम्बुलेन्स, शव वाहन जस्ता सवारी साधन ल्याएर संचालकले अवैध तरिकाले विक्रि वितरण गर्दै आएको छन् ।

जनकपुर अञ्चल अस्पतालको छेउमा रहेको रंगभूमि मैदानमा मेची, कोशी, सगरमाथा र बाग्मती अञ्चल लगायत धनुषा र महोत्तरीको ग्रामिण क्षेत्रका नाममा दर्ता रहेका एम्बुलेन्सहरु भाडामा लगाउनका लागि पार्किंग गरि राखिएका छन् । रंगभूमिमा स्टेशन गरेर राखिएको एम्बुलेन्सबाट चिकित्सकलाई कमिसन दिएर बिरामी पु¥याउने गरिन्छ । एम्बुलेन्स संचालक महाशंकर ठाकुरले एम्बुलेन्सको नियमन गर्ने निकायहरुको अभाव र अनुगमन नगर्ने प्रवृतिको कारणले जनकपुरमा सेवामुखी भावना भन्दा व्यापारमुखी भावना मौलाउदाँ विभिन्न किसिमका समस्या उत्पन्न भएको बताए । नेपाल–भारतको सहयोगमा २२ वटा र राजस्व छुटसहित जम्मा ६३ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन् । जसमध्ये मापदण्ड विपरीत ११ वटा एम्बुलेन्स ठेक्कामा लगाइएको छ भने ६ वटा गैरकानुनी रुपमा बेचिएको एम्बुलेन्स चालकहरुको आरोप छ ।

बिरामी बोक्ने एम्बुलेन्सको नियमित मेकानिकल परिक्षण र एम्बुलेन्स सञ्चालन समितिमा मासिक प्रतिवेदन बुझाउनुका साथै बिरामीका आफन्तलाई भाडा वापतको रसिद अनिर्वाय दिनुपर्ने प्रावधान रहेको छ । तर एम्बुलेन्सका संचालक र चालकले नियम कानुनको बेवास्ता गर्दै आएका छन् ।
अधिकांश एम्बुलेन्सभित्र प्राथमिक उपचारको बाकस, अक्सिजन सिलिन्डर, स्लाइन स्टयान्ड जस्ता उपकरणहरुको समेत अभाव रहने गरेको छ । प्राथमिक उपचार सम्बन्धी अनुभवी र सवारीसाधन गुडाउनका लागि कम्तीमा ५ वर्षको अनुभव तथा दक्ष भएकाहरुलाई मात्र एम्बुलेन्स चालकमा नियुक्त गर्न पाइने मापदण्ड छ । तर सो मापदण्डकोसमेत खिल्ली उडाउँदै नयाँ चालक राखेर महंगो दररेटमा सेवा दिने गरेको छ भने संचालकहरुले यसबाट मनग्य आयआर्जन गर्ने गरेको नाम नबताउने सर्तमा एक एम्बुलेन्स चालकले जानकारी दिए । -रातोपाटीबाट