कान्तिपुर दैनिक
भदौं ११, काठमाडौँ — सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पतीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।
विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके । यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरूले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरू आउँछन् र तिनलाई प्रक्रिया पुर्याएर लैजान पाइन्छ । गत वर्ष माघमा उनीहरू केन्द्रमा पुगे र आफूहरूलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरूलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाइदिने बताएपछि ती दम्पती खुसीले भावविभोर भए ।
उनीहरूले विवाह दर्ता प्रमाणपत्र, नागरिकताको फोटोकपीका अलावा गाउँपालिकाबाट सन्तान नभएको सिफारिस, अस्पतालबाट सन्तान हुन नसक्ने रिपोर्ट बालमन्दिरमा बुझाए । गत वर्ष माघ ४ गते बालमन्दिरमा कागजपत्र बुझाउँदा निर्देशक डंगोलले केही महिनापछि शिशु मिलाइदिने बचन दिएका थिए । डंगोलले भनेअनुसार माघ २९ गते उनीहरूले डेढ लाख रुपैयाँ बुझाए । बालमन्दिरले रकम बुझेको रसिद पनि थमायो ।
धर्मसन्तान स्विकारेको कुरा थाहा पाउँदा समाजमा अप्ठ्यारो पर्ने भएकाले उनीहरूले काठमाडौंमा डेरा खोजेर केही महिना बस्ने र आफैंले सन्तान जन्माएको भनेर गाउँ फर्किने योजना बनाए र माघमै काठमाडौं आए । मासिक ३५ सय तिर्ने गरी एउटा कोठा भाडामा लिए र नयाँ दिनचर्या सुरु गरे ।
६ महिनापछि एक दिन डंगोलले फोन गरेर शिशु भेटिएको खबर सुनाए । असार २५ गते ललितपुरको बुङमतीस्थित विनायक कोलनी नजिकै सालनालसहितको एकदिने शिशु भेटिएपछि प्रहरीले उद्धार गरी उपचारका निम्ति पाटन अस्पताल पुर्याएको थियो । डंगोलले यही शिशुको कुरा गर्दै दम्पतीलाई भनेका थिए, ‘सालनालसहितको बिरामी शिशु भेटिएको छ । उपचार खर्च बेहोर्ने हो भने मिलाइदिन्छु ।’ सन्तानका निम्ति काठमाडौंमा डेरा गरी अधैर्यपूर्वक बसिरहेका दम्पतीले डंगोलको कुरा स्विकारिहाले । तर डंगोलले एउटा सर्त राखे, ‘शिशुको उपचारमा अस्पतालमा आफैं खटिनुपर्छ ।’ स्वस्थ शिशुभन्दा कम तौलको र बिमारी रहे पनि उपचार गरेर निकोपार्न सकिन्छ भन्ने आसमा उनीहरूले बच्चा स्विकार्ने निर्णय गरे ।