Sunday, September 27, 2026
Home पत्रपत्रिका मकै सिध्यायो फौजी किराले

मकै सिध्यायो फौजी किराले

186

अन्नपूर्ण पोष्ट
भदौं ११, ओखलढुंगा । अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्। ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ। त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए। उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ र भोजपुरको तथ्यांक आउन बाँकी छ। यो एकै रातमा पनि बढ्न सक्छ।’ ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए। ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो। प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो। यसले एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने।

फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको सम्बन्धित जिल्लाका किसानले बताएका छन्। ती जिल्लामा बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। हिउँदे मकैमा पनि फौजी किरा फैलिएपछि हिउँदे मकैबाट उत्पादनको आशा मारेको भोजपुर हतुवागढी गाउँपालिका–१ रानीबासका किसान पदमबहादुर बस्नेतले बताए। उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन। यो वर्ष कसरी जीविका चलाउने रु बस्तुभाउलाई के दिने ? ’
भोजपुरमा हतुवागढी गाउँपालिका क्षेत्रमा फौजी किराको संक्रमण बढेको छ। भोजपुर हतुवागढी गाउँपालिका १, २, ५ र ६ का रानीबास, लुंगिन, होम्ताङ, हर्का, लंखालगायतका क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ। भोजपुरमा फौजी किराको प्रकोप देखिएको यो पहिलोपटक हो। प्रकोपले गाउँपालिका क्षेत्रका करिब आठ सय रोपनीमा लगाइएको मकैबाली नष्ट गरेको छ। हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किरा नियन्त्रण गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ।