नेकपाको केन्द्रीय समितिमा ४ जना थपिए, विदेश विभाग उपप्रमुखमा विष्णु रिजाल

214

भदौ ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी छोडेर आएका देवेन्द्र पराजुली र कल्पना धमला तथा विप्लव समूहको नेकपा छोडेर आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ । नेकपाको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्यबाट १० प्रतिशतलाई केन्द्रीय समितिमा लैजान सकिने व्यवस्था रहेको श्रेष्ठले बताए ।

यस्तै, नेकपाले केही जनवर्गीय संगठन र विभागको जिम्मेवारी हेरफेर र थप गरेको छ। थप गरिएअनुसार सुरक्षा विभाग प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राईलाई बनाएको छ। नेकपाले विदेश विभाग उपप्रमुखमा विष्णु रिजालको नाम थपेको छ। यसअघि विदेश विभाग प्रमुख सचिवालय सदस्य माधवकुमार नेपाल र उपप्रमुख राम कार्की चयन भइसकेका थिए।

नीति अनुसन्धाान प्रतिष्ठानको सहसंयोजकमा प्रमेश हमाल, प्रादेशिक मामिला विभागको उपप्रमुखमा डोरमणि पौडेल, सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईंलाई नियुक्त गरेको छ। कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्ज वीरमान चौधरीलाई बनाउने निर्णय पनि नेकपाले गरेको छ।