नागरिक दैनिक
भदौं ८, काठमाडौं । पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानीमा रुची देखाइएको क्षेत्र सिमेन्ट उद्योग हो। स्वदेशीमात्र होइन विदेशी लगानीकर्ता पनि सिमेन्टमा लगानी गर्न उत्साहित छन्। सधैं विदेशी लगानीको वकालत गर्ने निजी क्षेत्रले केही समयदेखि अब सिमेन्टमा विदेशी लगानी नचाहिने बताइरहेको छ। सम्भवतः यो मात्र एउटा क्षेत्र हो जहाँ निजी क्षेत्रले विदेशी लगानी चाहिँदैन भनिरहेको छ।
यथार्थ के हो रु हामीलाई चाहिने सिमेन्ट उत्पादन भइसक्यो रु वा प्रतिफल राम्रो भएकाले विदेशी लगानी नचाहिने भनिएको हो ? सिमेन्ट व्यवसायीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाको धारणा यस्तो छ, ‘अब सिमेन्ट उद्योगमा थप विदेशी लगानी आए अहिलेका उद्योग धराशयी हुन्छन्।’ किन रु उनी भन्छन्, ‘बजारको मागभन्दा धेरै उत्पादन भइसक्यो। अहिलेका उद्योगको क्षमता मागभन्दा ५० प्रतिशत बढी छ। अब नयाँ लगानी थपिनु भनेको अहिले गरेको लगानी डुबाउनु हो।’ सरकारले विदेशमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गरिरहेको र निर्यातकै सम्भावना हेरेर यहाँको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिइरहेको बेला साबिकका उद्योगीले विदेशी लगानी रोक्न लबिङ गरिरहेका छन्।
अहिले यहाँका सिमेन्ट उद्योगको क्षमता बजार मागभन्दा ५० लाख टन धेरै छ। संघका अनुसार बजारमा सिमेन्टको माग वार्षिक एक करोड टन छ। यहाँ खुलेका उद्योगको उत्पादन क्षमता एक करोड ५० लाख टन पुगेको छ। आगामी दुई वर्षमा सिमेन्ट उत्पादन क्षमता दुई करोड ५० लाख पुग्छ भने माग एक करोड २५ लाख टन मात्र। ‘यही कारण थप लगानी आवश्यक छैन भनिएको हो,’ थापाले भने।
संघका अनुसार अहिले मुलुकमा ६१ सिमेन्ट उद्योग छन्। ती मध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। चिनियाँ लगानीको होङसी शिवम् सिमेन्टले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्छ। अर्घाखाँची सिमेन्टमा पनि विदेशी लगानी छ। अफ्रिकी कम्पनी डाङ्गोटेले सिमेन्ट उद्योग सञ्चालन गर्न चुनढुंगा खानी खोजिरहेको छ। अन्य सिमेन्ट उद्योगमा पनि भारतीय लगानी छ। अहिले चिनियाँ लगानीमा दैनिक तीन हजार टन क्षमताको हुवासिन सिमेन्ट उद्योग धादिङमा निर्माणाधीन छ। उक्त उद्योगमा करिब १४ अर्ब रुपैयाँ लगानी छ। यी तथ्यले सिमेन्टमा विदेशी लगानी आकर्षित भएको देखिन्छ।
सिमेन्टमा मुलुक आत्मनिर्भर भएपछि सरकारले विदेश निर्यात गर्न प्रोत्साहित गरिरहेको र निर्यातकै सम्भावना हेरेर नेपालको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिइरहेको बेला स्वदेशी उद्योगीले विदेशी लगानी आवश्यक नरहेको बताइरहेका छन्। विदेशी लगानी रोक्न लबिङ सुरु गरेका छन्। आवश्यकभन्दा धेरै उत्पादन हुन थालेपछि उद्योगीले यस्तो आग्रह गरेका छन्।