नेपाल समाचारपत्र
भदौं ८, ललितपुर ।गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासबिना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ। सो अस्पतालको नयाँ बनेका भवनको नक्सा पास नभएको रहस्य खुलेको हो। अस्पतालले पाहुना घर, कर्मचारीका लागि आवासगृहलगायत ६ वटा भवन नक्सापासबिना बनाएको नगरपालिकाले जानकारी दिएको छ। अहिले ट्रमा सेन्टर भन्दै अस्पतालले २५ करोड ७६ लाख रुपियाँको लागतमा भवन निर्माण गरिरहेको छ।
भवन बनाउँदा नगरपालिकाले अस्थायी नक्सामा नै कैफियत जनाउँदा जनाउँदै अस्पतालले नक्सा नै नसच्च्याई निर्माण कार्यलाई तीव्रता दिएको छ। नगरपालिकालाई समेत अटेर गर्दै ५ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ। ती सबै भवन बनाउँदा नगरपालिकालाई अस्पतालले बेवास्ता गरेको पाइएको छ। नगरपालिका एक इन्जिनियरले अस्पतालले आफूहरुसँग बेवास्ता गर्दै काम गरिरहेको बताउँदै भने– ‘अस्पताल हाम्रै नगर क्षेत्रभित्र पर्छ तर हामीसँग इजाजत नलिई काम गरिरहेको छ।’
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले त्यस्तो सूचना आफूकहाँ आएकाले बुझ्ने काम भइरहेको बताउँदै भन्नुभयो– ‘हाम्रो इजाजतबिनै भवन निर्माण भइरहेको भन्ने उजुरी आएको छ, छानबिन गरिरहेका छौं।’ उहाँले भूकम्पपीडित सर्वसाधारणले भूकम्पको घर बनाउँदा नक्सापासको दस्तुर तिरेर नगरसँग इजाजत लिनुपर्ने भए पनि नाफामुखी अस्पतालले भवन बनाउँदा कर नतिरेको र इजाजत नलिएकाले कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो।