त्रिविमा त्रिपाठी सहित चार विश्वविद्यालयका कामु उपकुलपति तोकिए

97

भदौ ५,
काठमाडौं । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् । बैठकले संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिएको छ ।

यस्तै कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ । बैठकले त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद २० गतेसम्म थप गरेको छ । यसैगरी कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग गठनका लागि सर्च कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।