वाह ! साडीमा साम्राज्ञी

151

साउन २८,
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी बर्षमा धेरै फिल्म गर्दिनन् । अफर धेरै आएपनि बर्षामा एक वा दुई फिल्म मात्र अभिनय गर्ने उनको फिल्म क्षेत्रमा बोल्ड छवि बनेको छ । दर्शकमा पनि क्रेज जमाउन सफल उनी पछिल्लो समयकी डिमान्डकी हिरोइन पनि हुन् । उनलाई आफ्नो फिल्ममा खेलाउन निर्माता निर्देशक महँगो पारिश्रमिक पनि तिर्न तयार हुन्छन् । साम्रज्ञीको गत बर्ष ‘इन्टु मिन्टु लण्डनमा’ र ‘कायरा’ फिल्म प्रदर्शनमा आएको थियो । दुईमध्ये ‘इन्टु मिन्टु लण्डनमा’ले भने जिनतिन लगानी सुरक्षित गर्न सफल भयो । तर फिल्मको सफलता र असफलताले उनको फिल्मी करियरमा केही फरक परेको छैन । त्यसैले पनि उनले एकपछि अर्को फिल्म लगातार पाइरहेकी छन् ।

यो वर्ष उनका दुई फिल्म ‘मारुनी’ (भाद्र १३) र दशैंमा ‘रातो टिका निधारमा’ आउने तयारीमा छ । केही समयको अन्तरालमा आउन लागेका यी फिल्मको प्रचारमा समय मिलाउन उनलाई केही कठिन भने हुनेछ । तर अन्य काम सुरु नगरेकोले केही सहज पनि ।‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले अहिलेसम्म ससर्ती हेर्दा एकै किसिमको जस्तो फिल्ममा अभिनय गरेकी छन् । यो फिल्मका दर्शकले औल्याएको पाटो हो । यो उनले पनि महशुस गरेको बिषय हो । यसको दोस उनी फिल्मका स्क्रिप्ट राइटर माथि थोपार्न पछि पर्दिनन् । केही दिन अगाडि आयोजित फिल्म ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक कार्यक्रममा पनि उनले सो कुरा दोहोर्याएकी थिइन् ।

कार्यक्रममा साम्राज्ञी हरियो साडीमा उपस्थित भएकी थिइन् । सम्भवत उनी साडीमा सार्वजनिक कार्यक्रममा देखिएको यो पहिलो पटक हो । धेरैले साउन भएर पनि उनले हरियो साडी लगाएको अनुमान गरेका थिए । तर निर्माण युनिटले भने साम्राज्ञीको कार्यक्रमको पहिरन फिल्मको थिम भएको जानकारी दिए । फिल्म भित्रको ‘मेरो माया के हो ? ’ बोलको गीतमा पनि उनको पहिरन साडी रहेको छ । साडीमा राम्री देखिने भएतापनि असहज लाग्ने उनी बताउँछिन् । ‘साडी राम्रो लाग्छ तर लगाएर हिँड्न असहज महशुस हुन्छ’ उनले थपिन् ‘फिल्मको कथाले मागेपछि गर्नु नै पर्यो ।’ ‘रातो टिका निधारमा’ मा उनले नवनायक अंकित शर्मासँग रोमान्स गरेकी छिन् । अंकित निर्देशक शर्माकै छोरा हुन् । दुबैको जोडी फिल्मको गीतमा त केही असज देखिएको छ । फिल्मको पर्दामा कस्तो देखिन्छ । त्यो फिल्म रिलिजसम्मका लागि प्रतिक्षाको बिषय हो ।