जापान जाने कामदारको परीक्षा टुंगो

135

कान्तिपुर दैनिक
साउन २८, काठमाडौँ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् । ‘जापानले यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्छ,’ श्रमका एक अधिकारीले कान्तिपुरसँग भने । जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष९अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । उसले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने भएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ ।

जापानमा सरकारी संयन्त्रबाटै कामदार पठाइनेछ । म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक कम्पनीलाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । ‘परीक्षा सकिएलगत्तै परीक्षार्थीले पासफेल थाहा पाउनेछन्,’ श्रम मन्त्रालयका सहसचिव उमेश ढुंगानाले भने, ‘एकपटक भाषामा पास भएपछि त्यसले १० वर्षसम्म मान्यता पाउनेछ ।’