१० लाखसम्म लिनुहोस्: सरकारलाई सूचना दिनुहोस्,

172

साउन २७,
काठमाडौं । सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् । यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ । यद्यपि, सो रकम सुराकीको प्रकृतिको आधारमा निर्धारण गरिएको छ । सबै खालको सुराकीमा १० लाख पाइँदैन ।

भन्सार विभागले सुराकीलाई पुरस्कार दिँदै आएको छ । तर, अब त यस्तो पुरस्कारको राशीसमेत बढेर आएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत पुरस्कारको राशीसमेत बढाइएको छ । भन्सार नियमावली २०६४ मा यस्तो व्यवस्था गरिएको हो । भन्सार नियमावलीलाई संशोधन गरेर पुरस्कारको राशी बढाइएको हो । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे भनसार नियमावलीको संशोधनले सुराकी दिनेको पुरस्कारको रकम बढाइएको बताउँछन् ।

सुराकीको प्रकृति अुनसार सुराकी दिएबाट पक्राउ भएको माल वस्तु लिलाम विक्री गरिसकेपछि विक्री पश्चात प्राप्त भएको रकमको निश्चित प्रतिशत सुराकीले पाउँछ । भन्सार नियमावली २०६४ को १ मा पुरस्कारसम्बन्धी व्यवस्था गरेको छ । कसैले कुनै वस्तु चोरी पैठारी गर्न लागेको सुराकी दिन्छ भने उसले वस्तु लिलाम बिक्रिबाट आएको १५ प्रतिशतसम्म रकम पाउँछ । अहिले यो रकम ५ प्रतिशत बढाइएको छ । यस अघि १० प्रतिशत मात्र दिने व्यवस्था थियो । यस्तै चोरी निकासी वा पैठारी गर्न लागेको मालवस्तुसहित मानिस पक्रेर पेश गर्नेले दिने पुरस्कार १० प्रतिशले बढेर ३० प्रतिशत पुर्याइएको छ । यसअघि २० प्रतिशत पुरस्कार दिइन्थ्यो ।

चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्रेर पेश गरेमा १० प्रतिशतसम्म पुरस्कार दिइन्थ्यो भने अब २० प्रतिशत पुर्याइएको छ । यो भन्सार नियमावली २०६४ को १० औ संशोधनले व्यवस्था गरेको हो । २०७६ असार २३ गते यो नियमावली राजपत्रमा प्रकाशित भएको थियो । तर, बहुमूल्य धातु ९ सुन, चाँदी, जवाहरत० मुद्दामा सुराकी दिने वा मालवस्तु सहित मानिस पक्राउ गरेर पेश गर्नेलाई वस्तु लिलाम विक्रीबाट प्राप्त भएको १० प्रतिशत वा १० लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिइनेछ । यो बुँदामा भने परिवर्तन भएको छैन ।

भन्सार विभागका प्रवक्ता घिमिरे हालसम्म कतिले सुराकी दिएर यस्तो पुरस्कार पाए भन्ने यकिन तथ्यांक भनसार विभागसँग नहरको बताए । उनका अनुसार सम्बन्धित भन्सार कार्यालयमा सुराकी जाने र उनीहरुले नै सो पक्राउ परेको मालवस्तुबाट सुराकीको पुरस्कार भर्पाइ गर्ने भएकाले कसैसँग यसको तथ्याङ्क छैन । -रातोपाटी