लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान ; मन्त्री बाँस्कोटा

193

साउन २१,

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने दुष्प्रयास हो भन्नुभयो । एक प्रश्नका जवाफमा उहाँले संविधानको संशोधन बेला, समय र आवश्यकता पुष्टि भएपछि गर्न सकिने स्पष्ट पार्दै सरकारले मिडिया विरोधी कुनै पनि कार्य नगरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिनेछ भन्नुभयो । उहाँले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफँै सुधार गर्नुपर्दछ ।” मन्त्री बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ सँग पक्षपात नगरी न्यायप्रणालीको शुरुआत गरेको उल्लेख गर्दै सिङ्गो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट गर्नुभयो । हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उहाँले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्दछ भन्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।”

उहाँले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो । मन्त्री बाँस्कोटाले मिडियाले सरकारको योजना र जनताको चाहनाबीचको अवरोधलाई उजागर गरी गतिशील र तीव्रता दिने वातावरण निर्माणमा टेवा पु¥याउनु जरुरी भएको बताउनुभयो । उहाँले चुरेको डरलाग्दो दोहन रोक्न सङ्घ र प्रदेश सरकारको प्रयास आवश्यक रहेको धारणा पनि राख्नुभयो । पत्रकार सम्मेलन शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको थियो । रासस