Monday, September 28, 2026
Home समाचार कलंकीमा पूर्वउपसचिवको घरमा अचानक गोली चलेपछि

कलंकीमा पूर्वउपसचिवको घरमा अचानक गोली चलेपछि

117
सांकेतिक तस्विर

साउन १४,
काठमाडौं । सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। काठमाडौं-१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ। सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खबर पुगेको थियो। घटनामा कुनै क्षति भएन। घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले शर्माको घरमा इजाजतप्राप्त हतियार ‘टुटु’ राइफलबाट गोली चलेको बतायो। यो नियतवश गोली हानेको नभएर अचानक हतियार पड्केर निम्तिएको घटना भएको प्रहरीको अनुमान छ।

‘गोली चलेको हो, नियतवश गोली चलाएको देखिँदैन, हामी अनुसन्धान गर्दैछौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले भने, ‘कसैले चलाउँदै गर्दा अचानक गोली चलेको हुन सक्छ।’ उनका अनुसार गोली चलेको आवाज आएन। उक्त हतियार चराचुरुंगीको सिकार खेल्न प्रयोग हुने हतियार हो। यस्तो हतियारको आवाज आउँदैन। झ्यालको सिसा छेडेर गोली भित्र छिरेपछि शर्माको घरमा वातावरण तनावपूर्ण बनेको थियो। महाशाखाको टोलीले उक्त हतियार कहाँबाट चल्यो भन्नेबारे खोजी थालेको छ। घटनास्थल वरिपरिका घरमा प्रहरीले सोधपुछ गरिरहेको छ।