Sunday, September 27, 2026
Home पत्रपत्रिका पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

131
सांकेतिक तस्विर

नागरिक दैनिक
साउन ९, गुल्मी । सोमबार रातिको पहिरोका कारण आफ्नो घर छोड्न बाध्य पहिरो विस्तापित परिवारको बिचल्ली भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सिङ्दीमा पहिरोका कारण ५५ घर परिवार विस्थापित भएका हुन्। उनीहरू आफ्नो घरमा बस्न नसकेर छिमेकी तथा स्थानीय विद्यालयमा शरण लिन पुगेका छन्। पहिरो विस्थापित घरपरिवार ठूलोलुम्पेकस्थित धर्मपुर माविमा बसेका छन्। उनीहरूलाई मंगलबार बिहानदेखि नै गाउँपालिकाले संयुक्त मेस चलाएर खानाको व्यवस्था गरेको छ।

स्थानीय विद्यालयका शिक्षक दुर्गा तरामुका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएपछि विस्थापित परिवारको बिचल्ली भएको हो। ‘गाउँमा जताजतै पहिरो गएको छ,’ उनले भने, ‘एकछिनलाई अस्थायी बासका लागि विद्यालयमा व्यवस्थापन गरेका छौं, करिब २ सयभन्दा बढी जनालाई खाना बासको व्यवस्थापन गर्न निकै अप्ठ्यारो परेको छ।’ सोमबार राति गाउँमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु(याएपछि ५० भन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। ठूलोलुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ।

लुम्पेककै अन्य बस्ती पनि पहिरोको खतरामा रहेकाले अन्य केही घरपरिवारलाई पनि धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए। पहिरोले सिङ्दीको सिद्ध आधारभूत विद्यालयलगायत केही घर, गोठ सबै बगाएको उनले जनाए। ‘भिरालो गाउँमा धेरै बाक्लो बस्ती छ,’ अध्यक्ष रानाले भने, ‘पानी परिरहेकाले अहिले पनि बस्तीहरू पहिरोको जोखिममै छन्। मानिसहरू घरमा जान डराइरहेकाले विद्यालयहरूमा व्यवस्थापनको काम भइरहेको छ।’ उनका अनुसार पानी परिरहेको तथा माथिल्लो भागबाट पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा समेत कठिनाइ भएको बताए। ८५ घरहरूमध्ये एक घर बगाए पनि ५५ घर पहिरोको उच्च जोखिममा रहेको उनले बताए।