
नागरिक दैनिक
साउन ८, काठमाडौं । पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी/ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो। गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने तथा सरकारी बजेट दुरुपयोगमा संलग्न एक हजार ८ सय ठेकेदारमाथि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर छानबिन सुरु भएको बताए। उनले ठेकेदार विकास–निर्माणमा गैरजिम्मेवार बन्दै गएको आरोप लगाए।
ठेकेदारहरू विकास–निर्माणमा गैरजिम्मेवार बने: गृहमन्त्री
काम नगर्ने निर्माण व्यवसायीमाथि अनुसन्धान जारी छ: अख्तियार
सरकारी बजेट लिएर काम नगर्ने ठेकेदारहरुमाथि मन्त्रालय र अख्तियार दुवैबाट अनुसन्धान भइरहेको भन्दै गृहमन्त्री थापाले त्यस्तो आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए। ‘समयमै काम नगरेर भ्रष्टाचार गर्ने ठेकेदारहरु छानबिनको दायरामा छन्,’ मंगलबार उनले भने, ‘करिब एक हजार ८ सय ठेकेदार अनुसन्धानका क्रममै छन्, अनियमितता गर्ने, भ्रष्टाचार गर्नेलाई हामीले छोडेका छैनौं।’