आफ्नै छोराद्धारा बुवाको हत्या, आमा गम्भीर घाइते

207

साउन ६,
धनगढी । कैलालीमा छोराले धारिलो हतियार प्रयोग गरी आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन्
। घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका छन् ।

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।