३ करोड खर्च गरेर निर्माण गरेको पुल २ महिनामै भासियो

57
तस्वीर– रासस

साउन ५,
पनौती । काभ्रेको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल निर्माण भएको दुई महीनामै भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । ३ करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब ६ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महीनामा निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए । ‘प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ,’ उनले भने । उनका अनुसार निर्माण कम्पनीले भासिएको पुलको पुन:निर्माण गर्नेछ । त्रुटि सच्याउने अवधि (एक वर्ष) सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । तर निर्मााण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ ।