बालुवाटार जग्गा प्रकरणमा गच्छदार खोज्दै अख्तियार र सिआइबी

55

तर, तीन सातादेखि सम्पर्कविहीन, भारत र अमेरिका ओहोरदोहोर गर्दैअख्तियारले पत्रिकामा सूचना जारी गर्ने तयारी गरेपछि बयानमा गएका थिए अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, गच्छदारको पनि सूचना आउने तयारी

सुवास भट्ट, रमेश सापकोटा ( नयाँ पत्रिका दैनिक)

साउन ४, प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् । दुवै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर लागेका छन् ।

यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ । गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै अख्तियारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । यसअघि तत्कालीन भौतिक पूर्वाधारसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले पनि बयान दिन अस्वीकार गर्दा अख्तियारले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको थियो । गत बिहीबारसम्म बयान दिन जान्न भनेका बस्न्यात शुक्रबार कार्यालय नखुल्दै अख्तियार पुगेका थिए । उनी बेलुका कार्यालय सकिएपछि मात्र फर्किएका थिए । बयानका लागि बोलाउन खोज्दा गच्छदार सम्पर्कमा आउन नचाहेपछि सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार स्रोतका अनुसार बयानका लागि बोलाउने तयारी गरेलगत्तै गच्छदारले नेपाल छाडेका छन् ।

०६६ मा सरकारले बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गर्दा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टिप्पणी उठाएको थियो । भूमिसुधार मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय गच्छदारको मन्त्रालयबाट टिप्पणी उठेकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।