जर्मन रक्षामन्त्री उर्सुला युरोपेली आयोगको नयाँ अध्यक्षमा निर्वाचित

55

एजेन्सी, साउन १,
स्ट्रासबर्ग । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्। साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि भएकी छन् । युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका थिए ।

कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरेका थिए । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्नेछिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जन्कर रहेका छन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । बहुभाषी एवं सात बालबच्चाकी आमा उर्सुलाले मतदानपछि सांसदहरुलाई सम्बोधन गर्दै भनिन्– बेलायतको बहिर्गमन पश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरु रहेको र मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउनु भएकामा सबैलाई धन्यवाद दिन चाहन्छु ।

उनले भनिन्, ‘हामी सबै मिलेर रचनात्मक कार्य गर्नु पर्दछ, किनभने मेरो सम्पूर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुनेछ ।’ उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो । यदि उनी पराजित भएको भए ब्रसेल्सको सर्वोच्च पदका लागि विभिन्न समूहबीच तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्नेछ ।

झिनो बहुमतका आधारमा निर्वाचित भएको प्रसंगमा नवनिर्वाचित उर्सुलाले भनिन्, दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो, र मसँग बहुमत पनि थिएन । तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ, र अब म सबैलाई साथमा लिएर कार्य गर्नेछु । जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गरेकी उर्सुला विजयी भएकामा खुशी लागेको बताइन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले पनि उर्सुलालाई ट्वीटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । –एएफपी