अब अनमोलले आफ्नै बुबा भुवन केसीसँग फाईट गर्दै

299

असार ३०,
काठमाडौं । नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीलाई केही दिनयता हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । जीवनमा कहिल्यै जुँगा नकाटेका उनलाई दाह्रीमा भने यसअघि निकै कम देखिएको थियो । उमेरले ५० नाघे पनि अझै ३०-३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ? धेरैलाई चासोको विषय बनेको छ ।

तर,अभिनेता भुवनले फुलेको दाह्री नकाट्नुको कारण एक नयाँ फिल्मका लागि हो । गत वर्षको फागुनमा रिलिज भएको फिल्म ‘क्याप्टेन’ पछि उनी फेरि होम प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म निर्माण गर्दैछन्, जसमा अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहनेछ । यसको केही समयदेखि स्क्रिप्टमा काम चलिरहेको छ । सम्भवतः दशैंपछि फिल्मको छायांकन सुरु हुनेछ । फिल्मलाई उनी आफैंले निर्देशन गर्न सम्भावना प्रवल छ ।

यसमा उनी दोहोरो भूमिकामा छन्, पिता र छोराको । दुईमध्ये एक क्यारेक्टर नेगेटिभ छ । उनी पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।
उनले चाँडै आफू एक फिल्ममा भिलेनको भूमिकामा देखिन लागेका कारण दाह्री पालेको बताए । उनी भन्छन्, ‘धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु । यो दाह्री अझै बढाउनु पर्ने छ ।’ उनले फिल्मको विषय अरु जानकारी भने दिएनन् ।