असार २९,
काठमाडौं । नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन् । तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन । राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ । न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्, न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन् । एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको कलाकार अर्को अवार्डको मनोनयनमा पनि पर्दैन । नेपाली फिल्म अवार्डमा ‘पैसा र आफन्तवाद’ हाबी छ ।
उत्कृष्ट कामको सम्मान र भविष्यका लागि प्रोत्साहनस्वरुप अवार्ड प्रदान गरिनु पर्ने हो । तर, नेपालमा कामको मुल्यांकन गरेर अपवादले मात्र अवार्ड पाउँछन् । प्रायः पैसाको बार्गेनिङमा अवार्ड बाँडिने गरिन्छ । नेपालमा अवार्ड यतिसम्म लाजमर्दो हुन थालेको छ कि, सह-अभिनेतालाई उत्कृष्ट अभिनेताको अवार्ड निर्धक्क दिइन्छ । न राम्रो व्यापार न राम्रो तारिफ पाएको फिल्म उत्कृष्ट घोषित हुन्छ । अवार्ड समारोहमा नाचेपछि कुनै न कुनै विधामा अवार्ड थमाइन्छ ।
नेपाली फिल्म अवार्ड ‘दिनेलाई भन्दा हेर्नेलाई लाज’ भनेजस्तो हुन थालेको छ । यसले फिल्म अवार्डको गरिमा त गम्दै गएको छ नै दर्शक र फिल्मकर्मीमा समेत चासो शुन्य बराबर छ । अचेल फिल्म अवार्ड समारोहमा सहभागी हुनका लागि आयोजकले फोन गरेर बोलाउँदा पनि कलाकारहरु उपस्थित हुन छाडेका छन् । पुराना कलाकारहरु फुर्सदको समय सदुपयोग गर्न धेरथोर पुग्छन् । अहिलेका चलेका कलाकारहरुको त नाक-मुख देखिन्न । पुग्नेहरु पनि अवार्ड पाउने पक्का भएपछि मात्र उपस्थित हुन्छन् ।
प्राइभेट कम्पनीले गर्ने अवार्ड मात्र होइन नेपालमा राष्ट्रपतिको हातबाट सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पनि विवादबाट टाढा हुन सकेको छैन । नेपालमा राष्ट्रिय पुरस्कारको आफ्नै गरिमा छ । तर, यो अवार्ड पनि विवादमुक्त रहन नसक्दा दर्शक र फिल्मकर्मीमा अवार्डप्रतिको सम्मान झनै गिरेको छ । हिजो (शुक्रबार) साँझ शीतल निवास (राष्ट्रपति भवन) मा तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड एकसाथ बाँडियो । तर, यसपटक पनि विवादरहित हुन सकेन ।
अवार्ड सम्पन्न भएसँगै सामाजिक सञ्जालमा फिल्मकर्मीबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को आलोचना तथा विरोध हुन थालेको छ । अवार्ड पाउनेले गर्वले छाती चौडा भएको भन्दै राष्ट्रपतिको हातबाट प्राप्त गरेको अवार्डको फोटो सामाजिक सञ्जालमा हालेर लाइक्स र कमेन्ट गनेर बसेका छन् । नपाउनेले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउने मध्येका एक हुन् फिल्म ‘पञ्चायत’ का निर्देशक शिवम् अधिकारी । उनले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरे ।
एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रग्या प्रथिस्ठान को हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न…
Publiée par Karishma Manandhar sur Vendredi 12 juillet 2019
