टी-२० सिरिजमा नेपालको ‘क्लिन स्विप’, दोस्रो खेलमा मलेसिया ६ रनले पराजय

106

असार २९,
काठमाडौं । आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो।
आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो। मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान अजिजले ५० रनको योगदान दिए। उनले ३७ बलमा ७ चौका र १ छक्का हिर्काए। अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे।

अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो। तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए। मलेसियाका लागि अमिमुद्दीन रामले ११ बलमा ३ छक्काको मद्दतमा २४ रन बनाए। मोहमद साहददले नटआउट २१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहोरा, करण केसी र कप्तान पारस खड्काले १-१ हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका र ५ छक्का हिर्काए। शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २-२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए। यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का हिर्काए। बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।