Tuesday, September 22, 2026
Home समाचार बाढी पहिरोमा ४५ जनाको मृत्यु, ३५ बेपत्ता, २५ घाइते (विवरणसहित)

बाढी पहिरोमा ४५ जनाको मृत्यु, ३५ बेपत्ता, २५ घाइते (विवरणसहित)

95
सांकेतिक तस्विर

असार २९,
काठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा सात, प्रदेश नं– ३ मा १२, प्रदेश नं– ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको हो ।

उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ ।

प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश न–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् । प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् ।

यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस