Wednesday, October 7, 2026
Home समाचार वर्षाको वितण्डाः हालसम्म ११ जनाको मृत्यु, सचेत रहन सरकारको आग्रह

वर्षाको वितण्डाः हालसम्म ११ जनाको मृत्यु, सचेत रहन सरकारको आग्रह

234
सांकेतिक तस्विर

असार २७,
काठमाडौं । तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।
भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो ।

भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ । यता ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पर्सामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् ।

यसैबीच मकवानपुरमा पनि एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामी रहेकी छन् । यस्तै अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

यस्तै खोटाङमा ३ जना बेपत्ता छन् ।