ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमाको निधन

43

काठमाडौँ। ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोटमा उनी घाइते भएकी थिइन् ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गए राति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।