त्रिभुवन विमानस्थलमा यति एयरको जहाज चिप्लियो, उडान-अवतरण बन्द

351

असार २७,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका दुई जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।
यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो ।

रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि सवा १२ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको छ । तत्कालका लागि १२ः१५ बजेसम्म विमानस्थल बन्द गरिएपछि सवा १२ बजे विमानस्थल खुल्ने सम्भावना कम रहेको बताइएको छ । अहिले घाँसे मैदान र रनवेको आधा भागमा रहेको विमानलाई तानेर रनवेभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ । विमानस्थलमा कार्यरत एक इञ्जिनियरका अनुसार विमानस्थल खुल्न झण्डै एक घण्टा लाग्न सक्नेछ ।

यता विमानस्थल बन्द भएपछि नेपाली आकाशमै होल्डमा रहेको विमानहरु डाइभर्ट गर्न थालिएको छ । त्रिभुवन विमानस्थल कन्ट्रोल टावरका अनुसार यतिबेला अन्तर्राष्ट्रिय विमानलाई दिल्लीमा डाइभर्ट गरिएको छ । आन्तरिक उडानलाई भने विभिन्न स्थानमा फिर्ता पठाइएको छ । ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको थियो ।