जावलाखेलमा मन्त्री लालबाबु पण्डितमाथि आक्रमणको प्रयास, अंगरक्षकले जोगाए ज्यान (भिडियो)

515

असार २७,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।

Publiée par Gobinda Chhantyal sur Jeudi 11 juillet 2019