साङ्ग्रिला होटलअगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

155

असार २६,
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहिबार बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन्।

घाइते घर्तीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि भेनस अस्पताल मध्यबानेश्वर पठाइएको र उक्त स्थानमा पनि उपचार हुन नसकेपछि हाल दीर्घायु अस्पताल चाबहिलमा उपचार भइरहेको राठौरले बताउनुभयो । दुर्घटना गरेर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)