कान्तिपुर दैनिक
असार २३, मस्कट, ओमन — ‘ममी तपाईं कहिले आउनुहुन्छ ? ’ ओमानमा रहेकी पेमा थापालाई नवलपरासीबाट छोरीले फोनमा बारम्बार एउटै प्रश्न सोधिरहन्छिन् । ‘हामीलाई त तपाईँले बिर्सनुभयो जस्तै लाग्न थालेको छ,’ छोरीले सधैं गुनासो गर्छिन् । गत शुक्रबार मस्कटस्थित रुवि चोकमा भेटिएकी पेमा छोरीलाई फोनमा सम्झाउँदै थिइन्, ‘घरमा आउने मन त कति छ कति । म आउँदा तिमीहरूलाई खुवाउने बाटो बन्द हुन्छ ।’
११ वर्षअघिदेखि घरेलु कामदार रूपमा कार्यरत पेमा घर नफर्केको पाँच वर्ष भएको छ । ‘अहिले बाटो बन्द छ । घर गए फेरि म ओमान फर्किन मिल्दैन,’ उनले कान्तिपुरसित भनिन् । पेमाका पति साउदी अरबमा छन् । छोरा र छोरीलाई वृद्धा सासूको जिम्मेवारीमा छाडेर उनी ओमान आएकी हुन् । पेमा बिहान ५ देखि राति १२ बजेसम्म निरन्तर काम गर्छिन् । महिनामा ३५ हजार रुपैयाँ पर्छ । यसैबाट घरखर्चदेखि छोराछोरीको पढाइलेखाइ चलेको छ । ‘नेपालमै यति पैसा पनि कमाउने माध्यम छैन,’ उनले भनिन् ।
धरानकी पार्वती श्रेष्ठ ८ वर्षदेखि स्वदेश फर्कन पाएकी छैनन् । उनले ओमानीको घरमा काम गर्न थालेको १५ वर्ष पुग्यो । स्पोन्सर ९घरमालिक० ले घर जान छुट्टी दिइसकेका बेला २०७२ चैत २० गते नेपालमा संसदीय समितिले ‘सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य बन्द गर्न’ सरकारलाई निर्देशन दियो । लगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारका रूपमा जान श्रमस्वीकृति दिन बन्द गर्यो । घर गएपछि आफ्नो कार्यस्थल फर्कन नपाउने भएपछि पार्वती नेपाल गइनन् । ‘हातमा साहुले थमाएको दुईतर्फी टिकट थियो । लगेज तयारी थियो,’ उनले सुनाइन्, ‘चार वर्षपछि छोराछोरीलाई भेट्ने उत्सुकता थियो । उड्ने बेला एक्कासि पाइला रोकियो ।’
संसदीय समितिको निर्देशन कार्यान्वयन हुनुअघि म्यानपावर कम्पनीबाट समेत संस्थागत रूपमा घरेलु कामदार पठाउन थालिएको थियो । वैदेशिक रोजगार विभागका अनुसार त्यतिबेला संस्थागत रूपमा ३ सय २८ र व्यक्तिगत रूपमा २९ हजार १ सय ८१ महिलालाई घरेलु कामदारका रूपमा श्रमस्वीकृति दिइसकिएको थियो । श्रमस्वीकृति नलिई तेस्रो बाटो हुँदै जाने पनि थिए ।