भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

219

असार १५,
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको कालोपत्रे परिवर्तनको काम आज सकिएपछि भोलिदेखि पहिलेकै समयमा खुल्ने भएको छ। ३ महिना अघि दिनमा १० घण्टा विमानस्थल बन्द गरी उक्त काम हुँदै आएको थियो। यो काम चैत १८ गतेबाट सुरू गरिएको थियो। दैनिक ९० जना कामदारले परिचालन भएर ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काम गरेका हुन्। यसअघि धावनमार्ग कमजोर हुँदा वर्षाको समयमा चिरा पर्ने गरेको थियो। जसले गर्दा दैनिक उडान प्रभावित हुँदै आएको थियो।

चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेसनले ट्याक्सी वेसहितको कालोपत्रे फेर्ने कामका लागि ४ अर्ब २७ करोड नेपाली रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। भोलिदेखि २१ घण्टा खुले पनि भदौ १५ देखि पुस १५ सम्म फेरि विमानस्थल फेरि ८ घण्टा बन्द हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले जानकारी दिए। ट्याक्सी वेको काम सुरू गर्नका लागि विमानस्थल फेरि बन्द हुने छ।