शिक्षक रेनकोट ओढेर पढाउने, बिद्यार्थीले छाता ओढेर पढ्ने

468

दैलेख,
असार १३ । गुराँस गाँउपालिका– ८ मालिका माविमा कक्षाकोठाभित्रै पानी पर्दा शिक्षकले रेनकोट ओढेर पढाउछन् भने बिद्यार्थीले छाता ओढेर पढ्छन् । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् । ४ सय ५० विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ । कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।

समाचारअनुसार भारत सरकारको ३ करोड ८४ लाखको लागतमा २०७० सालमा निर्माण सुरु भएको यो भवन ६ बर्षसम्म ढलानमै सीमित भएको छ । निर्माणको जिम्मा लिएको खानी निर्माण सेवा बानेश्वर काठमाडौंले भारतीय दुतावासले एक बर्षमा १५ लाखका दरले मात्रै पैसा दिने भएकाले काममा ढिलाई भएको बताउँदै आएको छ । भवन निर्माणलाई तीव्रता दिन बिद्यालय व्यवस्थापन समिति पटक–पटक दुतावास पुगेका छन् तर, दुतावास र निर्माण कम्पनीले विद्यालय र विद्यार्थीको पीडा भने बुझेनन् । उता भारतीय दुतावासको सहयोगमा भवन बन्दै गरेको भन्दै जिल्ला शिक्षा एकाईले पनि कुनै सक्रियता देखाएको छैन ।