नागरिक दैनिक
असार १३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।
अब हुने तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्ने बताउँदै सभापति देउवाले थपे, ‘जनता भन्दा सर्वोपरी कोही छैन। एउटाको घरमा तीनपटक पुग्नुस् अनि समस्यामा हातेमालो गर्नुहोस्।’ पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयासलाई कमजोरीका रूपमा प्रस्तुत गर्न खोजिएको गुनासो पनि देउवाले गरे। पार्टीको विभागसहितका रिक्त रहेका संरचना गठन गर्न पटकपटक नाम माग्दा पनि अर्को पक्षले नदिएको आरोप लगाउँदै देउवाले अब धेरै समय नकुर्ने दाबी गरे। असार २२ गतेभित्र भ्रातृ संगठनसहितका विषयमा सहमति जुट्न नसके विधानअनुसार अघि बढ्ने बताउँदै सभापति देउवाले भने, ‘मैले धेरै कुरे २२ गतेसम्म पनि सहमति भएन भने विधानअनुसार अघि बढ्छु।’












