कान्तिपुर दैनिक
असार १२, काठमाडौँ — शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।
संसद्भित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्यविभाजनमा गुटको रस्साकसी सतहमै आएको छ । पार्टी, संसदीय दल र सरकारबीच संवादहीनताको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगका पछिल्ला छलफल अपेक्षित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’
लगत्तैजसो प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसमेत रहेका नेकपाका केन्द्रीय सदस्य राजन भट्टराईको ट्विट आयो, ‘इतिहास दोहोर्याउने कुचेष्टा ।’ यो ‘कुचेष्टा’ लाई अर्थ्याउने उनका थप दुई लाइन थिए, ‘सक्दा व्यवस्था उल्टाउने, नभए सरकारविरूद्ध प्रयोग गर्ने । क–कसलाई के कसो गरी एकै ठाउँमा ल्याउन सकिन्छ भनी भित्रबाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था ।’ आखिर नेकपामा किन यस्तो मनमुटाव रु यसमा मुख्य पाँच कारण देखिएका छन् ।
सहमतिमा शंका
पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित छ । समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई उछालिएकामा पूर्वएमाले वृत्त रुष्ट छ । किनभने प्रधानमन्त्री आलोपालोको विषय १५ महिनापछिको हो । तत्काल विवादमा परेको विषय राजनीतिक कार्यदिशा पनि हो । दुई पार्टीबीच एकता गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रले लिएका विचार थाती राख्ने सहमति भएको थियो ।
एमालेले ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले ‘एक्काइसौं शताब्दीको जनवाद र माओवाद’ थाती राखी तत्कालीन राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ हुने सहमति गरिएको थियो । त्यसकै स्पिरिटमा राजनीतिक प्रतिवेदन बनाइयो, जुन १३ महिना बित्दा पनि प्रकाशित भएको छैन ।