किन हराउँछन् मान्छे

138

अन्नपूर्ण पोष्ट
काठमाडौं । टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे । उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन । घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो । प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ ।

००

चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन् । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए । विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा छन् । परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान् प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन् । अहिले भागेकी दोस्री हुन् । धेरै माया गर्थें । जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन् ।’ ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ ।

००

टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला पा¥यो । उनलाई प्रहरीले समातेर ल्यायो । किन भाग्यौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन प¥यो, परिवारले विवाह गर्न मानेन अनि भागें ।’

००

यी तीन घटना प्रतिनिधि मात्रै हुन् । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छेन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्कविहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’