सलामीले बदनामी: निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी

170

नयाँ पत्रिका दैनिक
असार १०, काठमाडौं । प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए ।

पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्देशिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ ।

प्रहरीको चाकडीप्रथा
पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेको छ । सुरक्षा निकायले नेता तथा उच्चपदस्थ अधिकारीलाई प्रभावित गर्न र रिझाउन यसरी सलामी दिने गरेको छ । पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत प्रहरीले सलामी दिनुपरिरहेको छ । स्थानीय तहको वार्षिक सभामा सबैजसोले सलामी लिने गरेका छन् ।